अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान
- By comms
- Nov 25, 2024
- 4:27 PM
1 min read
अन्तर्राष्ट्रिय रूपमा १६ दिनसम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु भएर डिसेम्बर १० सम्म मनाइनेछ ।
यो वर्षको अन्तर्राष्ट्रिय नारा "बेइजिङ घोषणपत्र र कार्यान्वयनको ३० वर्षः महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौं" भन्ने रहेको छ । (Towards 30 years of Beijing declaration and platform for action: Unite to end violence against women)
पोखरामा राईट फर चिल्ड्रेनको सहयोगमा जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा कास्कीको संयुक्त आयोजनामा एक सचेतनामुलक र्याली सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
चिप्लेढुंगाबाट सुरु भएको र्याली न्युरोड हँदै पोखरा सभागृहमा पुगेर कोण सभामा परिणत भएको र्यालीमा नागरिक समाज, महिलाको अधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्था, मानव अधिकारकर्मी, टोल विकास संस्थाका प्रतिनिधि, क्याम्पस तथा विद्यालयका विद्यार्थीहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।
राईट फर चिल्ड्रेनको प्रयास परियोजनाका परियोजना प्रबन्धक सन्तोष गुरुङले यस्तो खालको कार्यक्रमले कम समयमा र थोरै लगानीमै लैंगिक हिंसा लगायतका विषयमा सही जानकारी तथा सूचना सम्प्रेषण गर्न सकिने हुनाले यस्ता कार्यक्रमहरु आयोजना हुनु सुखद कुरा भएको जिकिर गरे । उनले भने, "विशेषगरी विद्यालय तथा कलेजका विद्यार्थी भाईबहिनीहरु यस्तो र्यालीमा सक्रिय रुपमा सहभागी हुँदै गर्दा उनीहरुले लैंगिक तथा घरेलु हिंसाका बारेमा जान्ने बुझ्ने मौका पाउँछन्। त्यसले गर्दा उनीहरुले आफ्नो घरगाउँमा हुने गरेका घरेलू लगायत हरेका प्रकारका हिंसा विरुद्ध आवाज उठाउन सक्ने छन् ।"
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लैंगिक हिंसा कानुनी रुपमा दण्डनीय भएकोले त्यसको न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रमहरु आवश्यक रहेको बताए । उनले कानुनी व्यवस्थाको बारेमा जानकारी नभएर समेत हिंसाका घटनाहरु हुने गरेको जानकारी दिए । ‘घर परिवारबाट सुरुवात भएको लैंगिक हिंसाले समाजमा भयावह रुप लिएको छ,’ उनले भने, ‘घर परिवार, टोल समुदायसम्म हिंसा अन्त्यको लागि सचेतनामुलक कार्यक्रम आवश्यक पर्छ ।’ उनले सबै खालका हिंसाको अन्त्य गरे मात्र सभ्य र समुन्नत समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गरे । उनले स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले लैंगिक हिंसा न्यूनीकरणको लागि सामुहिक रुपमा अभियान चलाउनु पर्ने बताए । उनले सामाजिक सञ्चालको दुरुपयोग तथा वैदेशिक रोजगारीका कारण पनि हिंसा लगायतका सामाजिक समस्या बढ्दै गएको दाबी गरे ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले हरेक व्यक्ति मानव भएर जन्मेपनि पछि गएर समाजले लैंगिक रुपमा विभेद गर्ने गरेको बताइन् । उनले लैंगिक विभेदलाई चिर्न सरोकारवाला सबैको ऐक्यबद्धता आवश्यक भएको उल्लेख गरिन् । समाजमा हुने सबै प्रकारका हिंसाको बिरुद्धमा आवाज उठाउनु पर्ने चर्चा गर्दै उनले हिंसालाई सहेर बस्न नहुने र मौनतालाई तोड्न पर्ने बताइन् । उनले १६ दिनमात्र नभएर ३ सय ६५ दिन नै लैंगिक हिंसा रोक्ने अभियानमा लाग्नु पर्ने बताइन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले लैंगिक रुपमा गरिने लगायतका सबै प्रकारको हिंसाले समुदायमा गहिरो प्रभाव पारेको बताए । घरेलु तथा लैंगिक हिंसा समुदायमा लुकेको अपराध भएको जानकारी दिदैं उनले त्यस्ता घटना प्रहरीसम्म आउन कठिन भएको उल्लेख गरे । सबै प्रकारका हिंसाका घटनालाई बाहिर ल्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले हिंसाका दोषीलाई कानुनी रुपमा कारवाही गर्न प्रहरी तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
वरिष्ठ प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहले आर्थिक वर्ष २०८१/०८२ को कात्तिक सम्मको अवधिमा ३२ वटा हिंसा सम्बन्धी उजुरी परेको जानकारी दिए । उनले ‘हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेको बताए । उनले कार्यक्रम अन्तर्गत लैंगिक हिंसा अन्त्यको लागि अभियान गरेको उल्लेख गरे ।
- Tag #1
Join together with us
A life in which vulnerable children and young people exercise their rights and voices, and reach their full potential.
To assist those children and young people obstructed to develop and live their life, to realizing the change they have always desired.